कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारीको मुद्दालाई सडक र सदनबाट निरन्तर उठाउने बताएको छ ।

बिहीबार कास्कीमा पत्रकार सम्मेलन गर्दै रास्वपाका नेता हरि ढकालले सहकारीको मुद्दा निरन्तर उठाउने बताएका हुन् ।

पत्रकार सम्मेलनमा प्रवक्ता मनिष झाले संयमित भएर रास्वपाले प्रदर्शन गरिरहेको बताए । बरु उनले नेकपा एमाले र कांग्रेसका कार्यकर्ताहरू सहकारी पीडितको मुकुट ओढेर सडकमा उभिने गरेको आरोप लगाए ।

उनले रास्वपाको प्रदर्शनमा एउटा बिरुवा पनि नकुल्चेर प्रदर्शन भन्दै कोही प्रदर्शनका क्रममा कोही घाइते समेत नभएको भन्दै सहकारी पीडितहरूलाई काँग्रेस एमालेको भर नपर्न आग्रह गरे ।

‘नेपाली कांग्रेस र एमाले कुन बेला कतातिर उभिनुहुन्छ थाहा नै हुँदैन । अहिले एमाले–कांग्रेस प्रेमी प्रेमिका जसरी हिँडिराछन् कुन दिन पेटी यता उता हिँड्छन् टुङ्गो छैन उनीहरूको भर छैन’, झाले भने, ‘उनीहरूले मुद्दा उठाइदिन्छन् भन्ने लाग्छ भने धोखा पाउनुहुन्छ । उहाँहरू सधैँ सँगै हिँड्नुहुन्छ भन्ने छैन ।’

प्रवक्ता झाले आफूहरू आफ्नो नेता रवि लामिछानेलाई छुटाउन पोखरा नआएको समेत बताए । ‘हामी एउटा कानुनी प्रक्रिया अनुसार होस्, राजनीतिक प्रतिशोध नहोस् भनेर आएको हो’, उनले भने,‘राजनीतिक प्रतिशोध छ म प्रमाणित गर्न सक्छु ।’ सहकारीको पैसा अरू मिडियामा आउँदा तिनको नाम नआउने तर गोरखा मिडियामा आउँदा रवि लामिछानेलाई मात्र थुन्ने गरेको भन्दै राष्ट्रपतिका सल्लाहकार बाबुराम कुँवर समेत मुछिएको अवस्थामा उनलाई कुनै कारबाही नगरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here