धनगढी । सुदूरपश्चिममा आजदेखि भुवा पर्व सुरु भएको छ । ऐतिहासिक महत्त्व रहेको भुवा पर्व प्रदेशको पहाडी जिल्लामा सुरु भएको हो ।
उक्त पर्व कैलालीको धनगढीमा पनि तीन दिनसम्म मनाइने भएको छ । धनगढीमा बाजुरेली सेवा समाजले भुवा पर्व मनाउन लागेको हो । भूवा पर्व धनगढी उपमहानगरपालिका–१ खुल्ला मञ्चमा मनाइने समाजका अध्यक्ष बजिरसिंह धामीले बताए ।
उनका अनुसार भुवा पर्वमा प्रदर्शनीसँगै प्रतियोगिता पनि आयोजना गरिएको छ । प्रतियोगितामा सुदूरपश्चिमका तराईका जिल्लामा बसोबास गर्दै आएका बाजुरा तथा बझाङका नागरिकहरूका विभिन्न समूहको बिचमा प्रतिस्पर्धा गरिने बताइएको छ ।
हाल लोपोन्मुख अवस्थामा रहेको भुवा पर्वको ऐतिहासिक, सांस्कृतिक महत्त्व रहेको छ । बाजुरेली सेवा समाजका अध्यक्ष धामीका अनुसार भुवा प्राचीन संस्कृति हो । यो प्राचीनकालीन युद्धको भाका पनि हो । जसमा कौशलताको प्रदर्शनी गरिन्छ । जसको आफ्नै मौलिक विशेषता रहेको अध्यक्ष धामीको भनाइ छ ।
पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुने भुवा महाभारतको पाण्डव र कौरवबिचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ । सोही लडाइँको सम्झनामा तथा पाण्डवहरुको जीतको खुसीयालीमा पर्व मनाउन थालिएको बताइएको छ ।
पर्वमा ढाल र तरबारसहित चाली खेल्ने प्रचलन रहँदै आएको छ । जसको सुरुवातदेखि समाप्तिसम्म आफ्नै विधि प्रक्रिया रहेको धामी बताउँछन् ।


























