काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आकार प्रकार हेरेर सिमाभित्र रहेर बाघको संरक्षण र वृद्धि गर्न सकिने बताएका छन् ।
सोमबार वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय प्रकृति संरक्षण कोषको भवनमा आयोजना गरेको अन्तर्राष्ट्रिय बाघ दिवस कार्यक्रममा प्रधानमन्त्री ओलीले दोब्बर गर्ने भनेको बाघको संख्या त्रिपल भएको भन्दै अब दुई पटक डबल गर्यौँ भने मान्छेले छोडेर हिड्नु पर्ने अवस्था आउँने बताए ।
उनले भने,‘हामीले हाम्रो देशको आकार प्रकार हेर्नुपर्छ । साइज कत्रो छ । कति बाघ पाल्न सक्छौँ हामी । त्यसैले दोव्वर गर्ने भनेको त्रिपल भयो । अब दुई पटक डबल गर्यौँ भने मान्छेले छोडेर हिड्नुपर्ने अवस्था आउँने छ । हामीले एउटा सिमा भित्र बाघको संरक्षण गर्नुपर्छ । र बाघको वृद्धि पनि एउटा सिमा भित्रमात्र गर्नु पर्छ ।’
उनले बाघको सङ्ख्या धेरै भएको नेपालले छिमेकी देशलाई समेत बाघ उपहार दिन सक्ने बताए् ।नेपालले चीनलाई भद्र र रुपसी, मितिनी र सोल्टी उपहार दिएकोमा भद्रको निधन भएकोमा अब त्यसको ठाउँमा अर्को उपहार दिने चाहाना व्यक्त गरे ।