काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिवादीतर्फका वकिलको बहस सकिएको छ । रास्वपाका सभापति रवि लामिछानेसहित प्रतिवादी भएको मुद्दामा भोलि (बिहीबार) सरकारी वकिलको बहस रहेको छ ।

सरकारी वकिलको बहस सकिएपछि भोलि नै आदेश आउने सम्भावना रहेको अदालतले जनाएको छ । अदालतका श्रेस्तेदार राजन खनालले सरकारी वकिलको बहस सकिएपछि सम्भवतः भोलि नै आदेश आउने जानकारी दिए ।

उनले भने, ‘आज प्रतिवादीका तर्फबाट बहस सकिएको छ । भोलि सरकारी वकिलको तर्फबाट बहस हुन्छ । सरकारी वकिलको बहस सकिएपछि सम्भवतः भोलि नै आदेश पनि आउन सक्छ ।’

आज प्रतिवादीका तर्फबाट रामबहादुर खनाल, बिष्णु मरासिनी र उज्ज्वल शंकर सापकोटाले बहस गरेका थिए । त्यसपछि जाहेरवालाको तर्फबाट बहस भएको थियो ।

प्रतिवादीहरूको बयान सकिएलगत्तै पुस १६ गतेदेखि थुनछेक बहस सुरु भएको थियो । न्यायाधीश नितिज राईको इजलासमा थुनछेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।

लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडीआइजी छविलाल जोशी,लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतमाथि थुनछेक बहस भइरहेको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here