काठमाडौँ- आगामी वैशाखमा हुने लगानी सम्मेलनमा स्वीट्जरल्याण्डबाट उल्लेख्य मात्रामा लगानीकर्ता नेपाल आउने भएका छन् । बिहीबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँगको शिष्टाचार भेटमा नेपालका लागि स्वीस राजदूत डेनिएल मेउलीले लगानी सम्मेलन सफल पार्न स्वीटरजरल्याण्डका तर्फबाट सबै प्रकारको सहयोग रहने बताइन् । दूतावासले नेपालको लगानी सम्मेलनमा सहभागी हुन आग्रह गरेको र स्वीट्जरल्याण्डको निजी क्षेत्र नेपालमा लगानी भित्र्याउन इच्छुक रहेको जानकारी उनले दिइन् ।‘नेपालमा क्रमशः लगानीको वातावरण बन्दै गएकाले हामीले हाम्रा निजी क्षेत्रका उद्योगी-व्यवसायीलाई नेपालमा लगानी ल्याउन भनेका छौं’, उनले भनिन्, ‘लगानी सम्मेलनमा स्वीट्जरल्याण्डका व्यवसायीको उत्साहपूर्ण सहभागिता रहने जानकारी गराउन चाहन्छु ।’ उनका अनुसार लगानी सम्मेलन अगाडि नै सकिने सम्भाव्य लगानीका क्षेत्र पहिल्याउन आगामी साता स्वीट्जरल्याण्डबाट ‘वित्तीय विकासका लागि संयुक्त मिसन’ नेपाल आउँदैछ ।मिसन टोलीले सरकारी अधिकारीहरुका साथै नेपालको निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने तय भएको छ । आगामी २३ अगष्टमा स्वीस ग्लोबल इन्टर प्राइजेजका तर्फबाट पनि प्रतिनिधि मण्डल नेपाल आउने तयारीमा रहेको जानकारी राजदूत डेनिएलले दिइन् । उक्त टोलीले नेपालको निजी क्षेत्रसँगको सहकार्यमा आयात-निर्यातसम्बन्धी क्षेत्रमा सहकार्यको चाहना राखेको उनको भनाइ थियो ।

यस्तै, राजदूत मेउलीले आफूहरुसँग विमानस्थल व्यवस्थापनसम्बन्धी राम्रो अनुभव भएकाले नेपालका विमानस्थल व्यवस्थापनमा चासो रहेको समेत बताइन् । उनले ट्रेल बेस टुरिज्म र कोशी प्रदेशका पालिकाहरुमा राजश्व परिचालनसम्बन्धी पाइपलाइनमा हरेका स्वीस परियोजनाका काम मन्त्रालयका तर्फबाट छिटो अघि बढाउन मन्त्री पुनलाई आग्रह गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here