काठमाडौं । अर्थमन्त्री डा।प्रकाशशरण महतले सांसद विकास कोष ब्युँताएर सांसदहरूलाई व्यक्तिगत रूपमा पैसा दिएको जस्तो विश्लेषण गर्न नमिल्ने बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्षको २०८०र०८१ को बजेटका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री महतले सरकारले अहिले जसरी व्यक्तिगत रूपमा सांसदहरूलाई पैसा बाँड्नेको जस्तो प्रचार भइरहेको जस्तो नभएको बताएका हुन् ।
उनले सांसद विकास कोषको ५ करोड बजेट सांसदहरूले नभएर सम्बन्धित निकायले कार्यान्वयन गर्ने बताए । मन्त्री महतले विगतको जस्तो उपभोक्ता समिति बनाएर आयोजना बनाउने नभई ठेक्का प्रक्रियामार्फत आयोजनाको काम हुने बताउँदै उक्त कोषमा सांसदहरूको भुमिका पैसा खर्च गर्ने नभई आफ्नो निर्वाचन क्षेत्रको आयोजनाहरूको सिफारिस र आयोजना कार्यान्वयन भएरनभएको अनुगमनमा हुने बताए ।
अर्थमन्त्री महतले विद्युतीय सवारीलाई सरकारले निरूत्साहित गर्न खोज्यो भन्नु गलत भएको बताए । उनले सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने पक्षमा रहेको भन्दै त्यही अनुसार सरकारले बजेट ल्याएको बताए । उनले विद्युतीय सवारी साधनमा आयातकर्ताले ठूलो मार्जिन राखेर कारोबार गरेको कारण उपभोक्ताले महँगो मूल्य तिर्नुपरेको बताए । मन्त्री महतले चालु आर्थिक वर्षको राजश्व संकलन हेर्दा लक्ष्य अनुसार उठ्न नसक्ने बताउँदै राजश्वमा नीतिगत लुपहोल्सहरूलाई हटाएको दाबी गरे ।