काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आन्दोलनका लागि परिस्थिति झनै अनुकूल बन्दै गएको बताएका छन् । बुधवार पार्टी केन्द्रीय कार्यालयमा आगामी आन्दोलनका बारेमा प्रशिक्षण दिने क्रममा सम्बोधन गर्दै उनले राप्रपाले आन्दोलन शुरु गरेदेखि अहिलेसम्म आइपुग्दा परिस्थिति झन् भन्दा झन् आफूहरूको लागि अनुकूल बन्दै आएको बताए ।उनले अहिले आन्दोलनका लागि ठिक वातावरण बनेको बताए । अहिलेको व्यवस्था नै असफल भइसकेको दाबी गर्दै यो व्यवस्था रहेसम्म सुशासन, विकास र समृद्धिको कल्पना गर्न नसकिने लिङ्देनले बताए । ‘आन्दोलन सुरुवात गरेर यहाँ आई पुग्दासम्म परिस्थिति झन् भन्दा झन् हाम्रो लागि अनुकूल बन्दै आएको छ ।
आन्दोलनका लागि ठिक वातावरण बनेको छ ,’, उनले भने । अध्यक्ष लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएको मुद्दा ठिक रहेछन् भन्ने कुरा जनतालाई लागेको दाबी गरे । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले भनेका कुरा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका पक्षधरहरूले प्रमाणित गरिदिएको बताए ।