काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले काम थालेको छ । सोमबार कार्यालय उद्घाटन र अध्यक्ष तथा सदस्यको शपथ ग्रहण र पदभार ग्रहणसँगै प्राधिकरणले काम सुरु गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीबाट प्राधिकरणका अध्यक्ष अर्जुन पोखरेल र सदस्यद्वय मदन कोइराला र गुरु पौडेलले शपथ ग्रहण गरेलगत्तै पहिलो बैठक बसेको हो ।

प्राधिकरणमा पाँच सदस्यीय सञ्चालक समिति रहने व्यवस्था छ । त्यसमध्ये अध्यक्षको जिम्मेवारी अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सचिव अर्जुन पोखरेलले पाएका छन् । त्यस्तै, मन्त्रालयकै सहसचिव सदस्य रहने व्यवस्था अनुसार सहकारी महाशाखा हेर्ने सहसचिव मदन कोइराला सञ्चालक छन् । नेपाल राष्ट्र बैंकको नियमन विभाग हेर्ने कार्यकारी निर्देशकको सदस्य रहने व्यवस्था अनुसार गुरु पौडेल सञ्चालक बनेका हुन् । अब बोर्डमा सहकारीसम्बन्धी एक जना विज्ञ र एक जना चार्टर्ड एकाउन्टेन्ट सदस्य नियुक्त हुन बाँकी छ ।

सोमबार नै राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालय उद्घाटन गरिएको थियो । पुल्चोकस्थित तत्कालीन सहकारी विकास बोर्डको कार्यालय रहेको कार्यकक्षमै अहिले प्राधिकरणको कार्यालय राखिएको छ । बोर्डका कर्मचारी प्राधिकरणको कर्मचारीमा स्वतः रूपान्तरण हुनेगरी व्यवस्था गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here