काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बजारमा फिंजाइएका भ्रमहरू चिर्न सहकारीहरूले आफूहरू ठिक अवस्थामा रहेको सन्देश दिन जरुरी रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री अधिकारीले सहकारीबारे फैलाइएका हल्लाहरू मिथ्या मात्र हो भन्ने आधारमा अघि बढ्न जरुरी रहेको तर्क गरे ।
‘अहिले सहकारीको विषयमा विभिन्न खाले भ्रमहरू फैलिरहेको छ । हामी आफ्नो ठाउँमा ठिक छौं भन्ने सन्देश दियौं भने कसैको भ्रमले केही गर्दैन,’ उनले भने ।
सहकारीहरूले जनताको समस्या समाधान हुनेगरी कृषिमा आधारित र जनताको जीवनस्तर उकास्नेगरी काम गरे सबै सहकारीहरू एउटै तप्काका हुन् भन्ने भ्रम चिर्न सकिने उनले बताए ।
मन्त्री अधिकारीले छिमेकी मुलुकहरूले कृषिमा गरेको कामको अनुशरण गरेर अघि बढ्न जरुरी रहेकोमा जोड दिए । ‘हाम्रो भूगोल, माटो र चेतना अनुसारका योजनाहरू ल्याउनुपर्छ र छिमेकी मुलुकहरूले गरेको प्रगति उन्नति र सहकारी क्षेत्रमा गरेका प्रगतिहरूलाई अनुशरण गर्दै योजना बनाएर अगाडि बढियो भनेमात्रै सफल हुनसक्छौं,’ उनले भने ।