काठमाडाैं । आषाढ शुक्ल पूर्णिमा अर्थात् ज्ञान दिने गुरुको सम्मान गर्ने दिन । १८ पुराणका रचयिता महर्षि व्यासको जन्मजयन्ती पनि आइतबार मनाइँदैछ । आइतबार २६ घडी ५१ पला अर्थात् अपराह्न ४ बजेर ६ मिनेटसम्म पूर्णिमा तिथि छ ।

गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ । ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता छ । मनुस्मृतिअनुसार जन्म दिने, संस्कार दिने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ ।

वैदिक परम्परामा व्यक्तिको ज्ञानप्राप्ति र चरित्रनिर्माणमा माता, पिता र आचार्य (गुरु)को मुख्य भूमिका रहने मानिएको छ । मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई मानिएको छ। व्रतबन्धका बेला गायत्री मन्त्र दिने र वेद पढाउनेलाई गुरु भनिन्छ । निष्काम भावले विद्या प्रदान गर्नेलाई गुरु भनिन्छ ।

‘जसले अरुलाई आचरणमा राख्छन् र स्वयं पनि आचरणको पालना गर्छन्’, स्मृतिमा भनिएको छ, ‘ती नै गुरु हुन् ।’ एकै अक्षर सिकेको किन नहोस् गुरुको सम्मान गर्दैन भने ऊ पशुभन्दा पनि नीच हुने चाणक्यले बताएका छन् ।

गुरुका प्रकार शास्त्रमा गुरुका अनेक भेद बताइएका छन् । ज्ञानप्राप्तिका लागि अहोरात्र तपस्यामा लीन हुने ऋषि–महर्षिलाई गुरु मानिएको छ । ब्रह्मा, विष्णु, महेश्वर यी त्रिदेवलाई गुरुकै कोटिमा राखिएको छ । गीताज्ञान दिने भगवान् श्रीकृष्णलाई वैष्णवहरूले जगतकै गुरु (कृष्णं वन्दे जगद्गुरुम्) मान्छन् ।

कतिले पौराणिक ग्रन्थका रचयिता वेदव्यासलाई गुरु मान्छन् । बृहस्पति र शुक्र क्रमशः देव र दैत्यका गुरु मानिएका छन् । तन्त्रमा पनि गुरुका विविध भेद बताइएको छ । लौकिक समाजमा आफूलाई कुनै पनि विषयमा ज्ञान दिनेलाई गुरु सम्बोधन गर्ने चलन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here