काठमाडाैं । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी । बुधबार सनातन धर्मावलम्बी आँगनमा तुलसी रोपण गर्दैछन् । बुधबार ३१.४५ घडीपला एकादशी तिथि रहेको पञ्चाङ्गमा उल्लेख छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा हरिशयनी एकादशीका दिन सार्ने परम्परा छ ।
आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने परम्परा रहेको छ । यो अवधिलाई चतुर्मास भनिन्छ। कार्तिक शुक्ल हरिबोधिनी एकादशीमा तुलसीविवाह गरेपछि चतुर्मास सम्पन्न हुन्छ । आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने मान्यतास्वरूप चार महिनासम्म विशेष मांगलिक कार्य गरिँदैन ।
चतुर्मासको अवधिमा भगवान् विष्णुसँग सम्बन्धित व्रत–उपवास र पूजापाठलाई महत्त्व दिइने पं देवकोटाले जानकारी दिए । वर्षमा पर्ने २४ एकादशीमध्ये हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष महत्त्व दिइन्छ। वैष्णव धर्म लिएकाहरूले एकादशीलाई विशेष महत्त्व दिए पनि स्मृति मान्नेहरूले यसलाई सामान्य किसिमले मनाउँछन् । आयुर्वेदिक औषधिका रूपमा समेत तुलसीको उपयोग गरिन्छ । धेरै अक्सिजन फ्याँक्ने वनस्पतिका रूपमा तुलसीको महत्त्व छ ।