सप्तरी । मधेस प्रदेशमा ‘पैसा डबल’ गरिदिने ठगी धन्दा चलाउने गिरोह सक्रिय रहेको खुलासा भएको छ । सप्तरी जिल्लामा सर्वसाधारणको पैसा लिएर ‘डबल’ गरिदिने भन्दै ठगी धन्दा चलाइरहेको गिरोहका नाइकेसहित एक जना पत्रकार पक्राउ परेपछि यसको खुलासा भएको हो ।
सप्तरी प्रहरीले बुधवार बिहान पत्रकार महासङ्घ सप्तरीका पूर्व उपाध्यक्ष वैद्यनाथ यादवलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई तिलाठीाट पक्राउ गरेको जनाएको छ । पत्रकार यादवमाथि ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता भएकोले पक्राउ गरिएको सप्तरी प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले बताए ।
उनका अनुसार दर्जनौँ मान्छेहरूको जाहेरी परेपछि प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको र सोही क्रममा पत्रकार यादव पक्राउ परेका हुन । यसअघि प्रहरीले पैसा डबल गरिदिने धन्दा चलाइरहेका गिरोहका मुख्य नाइके सप्तरीकै तिलाठी कोइलाडी गाउँपालिका –७ निवासी रामबहादुर भन्ने हनुमानी रजकलाई पक्राउ गरिसकेको छ ।
पक्राउ परेकाहरुविरुद्ध १३ वटा जाहेरी परेको प्रहरी प्रवक्ता बस्नेत बताउँछन् । उनका अनुसार यो गिरोहले दश वर्षदेखि सप्तरीमा पैसा डबल गरिदिने भन्दै ठगी धन्दा चलाइरहेका थिए । अहिलेसम्म परेको जाहेरीमा यो गिरोहले करिब अढाइ करोड रुपैयाँ ठगी गरेको पाइएको छ ।
ठुलो गिरोह बनाएर ठगी धन्दा चलाइरहेको देखिएकोले प्रहरीले यो घटनामा सूक्ष्म अनुसन्धान सुरु गरिएको डिएसपी बस्नेतले बताए । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखिएको छ ।