काठमाडौँ । व्यवस्थापन तथा श्रोतसम्बन्धी अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्मा नेपाल आइपुगेका छन् । उनी अहिले अमेरिकी दुतावासमा दुतावासका प्रतिनिधिहरुसँग छलफल गरिरहेका छन् । उप विदेशमन्त्री वर्माले आफ्नो नेपाल भ्रमणको क्रममा नेपाल सरकारका नेतृत्वकर्ताहरू, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू तथा नेपाली व्यवसायीहरूसँग भेटघाट गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
उनी आज दिन भर भेटघाट गर्ने र भोली बिहानै भारत जाने कार्यक्रम रहेको छ । भारतका उनी पूर्व अमेरिकी राजदूत पनि हुन् । दूतावास स्रोतका अनुसार उनले आजै प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायतसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ । अमेरिकी बाइडेन सरकारका शक्तिशाली मन्त्रीमध्येका एक उपविदेश मन्त्री वर्मा नेपाललाई नजिकबाट बुझेका व्यक्तिमा पर्छन् । अमेरिकी विदेश मन्त्री एंथनी ब्लिकंनले वर्मालाई युक्रेनको आर्थिक अवस्था सुधारका लागि विशेष प्रतिनिधिमा पनि नियुक्त गरेका छन् ।
अमेरिकी संसदमा फ्लोरिडाका रिपब्लिकन सांसद ब्रायन मस्टलले अमेरिकाले नेपालमा धार्मिक आस्था नभएका नागरिकका लागि वाइडेन प्रशासनले पाँच लाख अमेरिकी डलर खर्च गरेको दाबी गरेका थिए । त्यसको उनले जवर्जस्त खण्डन गरेका थिए । त्यतिबेला वर्माको निकै चर्चा भएको थियो । भ्रमणमा उनका साथमा अमेरिकी राष्ट्रपतिका अन्तर्राष्ट्रिय जलवायु नीतिका वरिष्ठ सल्लाहकार जोन पोडस्टा र अमेरिकी ऊर्जा विभागका उपसचिव डेभिड टर्क रहेको बताइएको छ ।