काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको कार्यालय भवन राजनीतिक दलहरुले आफैँले नै बनाउनुपर्ने बताएका छन् । उनले सत्ता साझेदार दल नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मिनबहादुर गुरुङले गरेको सहयोगको विरोध गरेका हुन् ।
शर्माले एक अर्ब रुपैयाँभन्दा बढी मुद्रा पर्ने जग्गा खरिद गर्ने र भवनसमेत बनाइदिने घोषणा गरिएको विषय चर्चा र विवादमा रहेको भन्दै यसको जवाफ नेकपा एमालेले दिनुपर्ने बताए । उनले व्यवसायीहरुले राजनीतिक दलहरुलाई सानो सहयोग गर्नेकुरा राम्रो भएपनि एक अर्बभन्दा बढीको सहयोगले गम्भीर आशंका पैदा गरेको उल्लेख गरे । शर्माले राजनीतिक दल र निजी क्षेत्रबिचको सम्बन्धको सीमानाका बारेमा सोच्नैपर्ने अवस्था देखिएको समेत बताए ।
उनले पार्टी कार्यालय निर्माणका लागि ठूलो रकमको विषय आउँदा स्वभाविक रुपमा एमाले, एमाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र व्यवसायी गुरुङले जवाफ दिनुपर्ने दायित्व रहेको बताए । प्रधानमन्त्री स्वयं उपस्थित भइ एमालेले जग्गा र भवन पनि बनाइदिने गरी भएको घोषणामा प्रश्न उठेको उनले बताए ।