काठमाडौं । नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा रहेका राष्ट्रिय एकता अभियान पार्टीका संयोजक वामदेव गौतमले आफूनिकट नेताहरूको व्यवस्थापनमा जोड दिएका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग जारी भेटवार्तामा गौतमले नेताहरूको व्यवस्थापनको सरोकार राखेका हुन् । दुई नेताबीच एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भएको भेटमा पार्टी एकताको क्रममा आफूनिकट नेताहरूले कुन–कुन जिम्मेवारी पाउने भन्दै गौतमले सरोकार राखेको एक नेताले जानकारी दिए ।
राष्ट्रिय एकता अभियानका अन्य नेताहरूसहित गौतम एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा छन् । एकीकृत समाजवादीमा गौतमलाई नेपाल र झलनाथ खनालपछिको वरियता दिने तयारी छ । अन्य नेताहरूको व्यवस्थापनको टुंगो भने लागिसकेको छैन ।
नेकपा एमाले र एकीकृत नेकपा माओवादी मिलेर बनेको नेकपा सर्वोच्च अदालतको आदेशसँगै विघटनमा गएपछि नेपालले आफूनिकट नेताहरू समेटेर नयाँ पार्टी खोलेका हुन् ।