काठमाडाैं । डिजिटल वालेट ईसेवाको मोबाइल एप गुगल प्लेस्टोरमा फर्किएको छ । नयाँ विवरण अपडेट गर्ने क्रममा मंगलबारदेखि प्लेस्टोरमा नदेखिएको ईसेवा एप आज बिहान पुन उपलब्ध भएको हो ।
कम्पनीको नाम ईसेवा प्रालिबाट ईसेवा लिमिटेडमा परिवर्तन भएको कारण विवरण डीयूएनएस (डेटा युनिभर्सल नम्बरिङ सिस्टम)मा अपडेट हुँदा एप अस्थायी रूपमा प्लेस्टोरमा उपलब्ध नभएको कम्पनीले जनाएको छ ।
कम्पनीले सामाजिक सञ्जाल लेखेको छ, ‘हजुरहरूको ईसेवा पुनः गुगल प्ले स्टोरमा उपलब्ध रहेको जानकारी गराउन पाउँदा हामी खुसी छौँ । हाम्रा सम्पूर्ण ग्राहक, एजेन्ट, मर्चेन्ट र शुभेच्छुकको सदिच्छाप्रति हामी आभारी छौँ ।’