काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद्ले संरक्षण गर्न थालेपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एशियाली फुटबल महासंघले अनुमति दिएको छ । परिषद्ले एन्फालाई एएफसीको आधिकारिक जवाफ माग गरेसँगै एन्फाको जवाफ अनुसार दशरथ रंगशालालाई एएफसीबाट योग्य रहेको रिर्पोट प्राप्त भएको छ ।


विभिन्न प्रश्न उठाउँदै एफसीले केही समयदेखि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो । एएफसीले रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगितािका लागि अयोग्य भनेपछि गत चैत महिनाबाट परिषद्ले खेल मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो ।


यसैबीच एएफसीका प्रतिनिधिले साउन ९ गते दशरथ रंगशालाको निरिक्षण तथा अवलोकन गरि मापदण्ड पुरा भएको प्रतिवेदन दिएको अखिल नेपाल फुटबल संघले जानकारी दिएको छ ।
दशरथ रंगशालाको खेलमैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिएसँगै साउन २९ गते एएफसी च्याजेन्ज लिग छनौटको प्लेअप अन्तर्गत भुटानको पारो एफसी र नेपालको चर्चब्वाईज युनाईटेडबीच खेल हुने भएको छ ।


अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि रंगशाला अयोग्य भएको एएफसीले गत चैतमा प्रतिवेदन दिएपछि नेपालमा २०८० चैत ८ गते आयोजना हुनुपर्ने वर्ल्डकप फुटबल अन्तर्गत दोस्रो चरणको नेपाल र बहराईनबीचको क्वाईलिफाईङ खेल बहराईनमा भएको थियो भने जेठ २४ गते यूएईसँगको खेल साउदीमा भएको थियो ।


लामो समयदेखि अखिल नेपाल फुटबल संघले संरक्षण गर्दै आएको खेल मैदानप्रति एएफसीले प्रश्न उठाएपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले २०८० चैतदेखि परिषद् आफैँले रंगशालाको खेलमैदान संरक्षण र ममर्तको जिम्मा लिने निर्णय गरेका थिए ।


मैदानले एसफसीबाट पुन मान्यता पाएपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली दर्शकले फेरी रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता हेर्न पाउने बताए । उनले खेलमैदानको रेखदेख र संरक्षणमा राखेपले निकै मेहनत गरेको भन्दै संरक्षणमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here