काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाले वनका सचिवहरूले मयुरधाप औद्योगिक क्षेत्रको योजना तुहाउन खोजेको आरोप लगाएका छन् । उनले मध्यवर्ती क्षेत्रको नाममा वनका सचिवले औद्योगिक क्षेत्र निर्माणको योजना तुहाउने काम गरिरहेको बताएका हुन् ।

हेटौँडामा शनिबार पत्रकारहरूसँगको भेटघाटमा मुख्य सचेतक बर्तौलाले देशको अर्थतन्त्र र नागरिकको रोजगारीसँग जोडिएको गौरवको आयोजना मयुधारपको औद्योगिक क्षेत्रलाई वन र निकुञ्जको विभिन्न प्रावधान लगाएर रोक्न खोजेको बताए । देशको क्याबिनेटबाट पारित गरी सबै प्रक्रिया पूरा गरी कार्यान्वयनको चरणमा रहेको उक्त योजनाको औचित्य र आवश्यकताको विषयमा प्रश्न गर्दै वनको सचिव स्तरका कर्मचारीले रोक्ने काम गरेको उनको भनाई छ ।

‘गौरवको आयोजना सञ्चालनमा निकुञ्ज र वनका कर्मचारीको दादागिरी देखिएको छ । मयुरधाप औद्योगिक क्षेत्रको योजना तुहाउने रणनीति अनुसार वनका सचिवले सूचना जारी गरिएको छ,’ उनले भने, ‘२०७२ सालमा घोषणा भएर विभिन्न प्रक्रिया सहित जग्गा भोगाधिकार समेत पाएर अघि बढेको सो आयोजनाको औचित्य र आवश्यकता बारे प्रश्न गर्दै वन र निकुञ्जको कर्मचारी पत्र जारी गरिएको छ ।’

औद्योगिक क्षेत्रका पुनः सम्भाव्यता अध्ययन गर्नुपर्ने भन्दै गत पुस ९ मा सचिव स्तरको निर्णयसहित सार्वजनिक सूचना जारी हुनुले देशको सिस्टममा ब्यूरोकेसीको दबदबालाई स्पष्ट पारेको उनले बताए । मध्यवर्तीको नाममा लगातारको असहयोग सह्य नहुने उनले बताए ।

मध्यवर्ती क्षेत्रमा परेको भन्दै मयुरधाप औद्योगिक क्षेत्र सञ्चालन प्रक्रिया अगाडि बढाउन अवरोध हुने गरी वन मन्त्रालयबाट पत्र प्रेषित हुनु दुखद रहेको उनको भनाई छ । मयुरधाप औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउने र नयाँ उद्योग कलकारखाना स्थापना गरि रोजगारी का अवसरहरू सिर्जनाको वातावरण बनाउन सक्रिय हुनुपर्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here