काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पर्यटकीय सेवा बिस्तारसँगै पर्यटकहरूको सुरक्षा प्रमुख सरोकारको विषय भएको बताएका छन् । ४६ औँ पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौँमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कुँवरले नेपाल सुन्दर मात्र नभई सुरक्षित रहेको महसुस पर्यटकहरूलाई दिलाउन सके मात्रै नेपालमा पर्यटकको सङ्ख्या बढ्ने बताएका हुन् ।
उनले पर्यटकीय सुरक्षा नै पर्यटनको प्रमुख आधारशिला भएको बताए । उनले पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्रै सम्भव नरहेको भन्दै यसमा सरोकारवाला सबै निकायहरूको सम्मानजनक भूमिका अनिवार्य रहेको बताए ।
उनले भने, ‘पर्यटकीय सेवा बिस्तारसँगै पर्यटकहरूको सुरक्षा पनि प्रमुख सरोकारको विषय हुनुपर्दछ । नेपाल सुन्दर मात्र होइन, सुरक्षित पनि छ भन्ने विश्वास विश्वमाझ आफूलाई चिनाउन सके मात्रै पर्यटन क्षेत्रमा थप आकर्षण बढाउन सकिन्छ । पर्यटकीय सुरक्षा नै पर्यटनको प्रमुख आधारशिला हो । पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्रै सम्भव छैन । यसका लागि सरोकारवाला सबै निकायहरूको सम्मानजनक भूमिका अनिवार्य छ ।’
प्रहरी महानिरीक्षक कुँवरले पर्यटकीय दृष्टिकोणबाट नेपाल आकर्षणको केन्द्र रहेको उल्लेख गरे । पर्यटकीय प्रहरीको क्षमता वृद्धि गर्न जरुरी रहेको बताए ।