काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

शनिबार २११औँ भानुजयन्तीका अवसरमा शुभकामना दिँदै उनले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण विश्वभरका सम्पूर्ण नेपाली भाषीबीच भाषिक एकता कायम हुन सकेको तथ्यलाई मनन गर्नुपर्ने बताए ।

उनले आदिकवि भानुभक्तले अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको वाल्मीकि रामायण सबै नेपालीको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबिच भावनात्मक एकता अभिवृद्धि गर्न यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

भानुभक्तीय रामायण नेपालका विभिन्न जातजातिलाई एकताको सूत्रमा बाँध्ने महत्त्वपूर्ण रचना रहेको उनको भनाई छ । राष्ट्रपति पौडेलले सबै नेपालीबीच आपसी विश्वास र एकताको भावना प्रगाढ होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

तनहुँ जिल्लाको चुँदी रम्घामा १८७१ असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गतेका दिन स्वदेश तथा विदेशमा रहनुभएका नेपाली भाषा, साहित्य र संस्कृतिप्रेमीले विविध कार्यक्रम आयोजना गरी भानुजयन्ती मनाउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here