काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वीरता र सौर्यको इतिहास विश्वमा प्रचार गर्न आग्रह गरेका छन् ।
राष्ट्रिय विभूति भीमसेन थापाको २५०औँ जन्मजयन्तीको अवसरमा शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले वीर पूर्खाको साहस, वीरता र सौर्यका कारण नेपाल सधैँ स्वतन्त्र राष्ट्र रहेको यो गौरवपूर्ण इतिहासलाई विश्वमा प्रचार गर्न आग्रह गरेका छन् ।
उनले भने,भीमसेन थापाको दुःखान्त जीवन सुन्दा नेपालको अभिशप्त इतिहासको पनि झल्को आउँछ । नेपाल आदिकालदेखि दक्षिण एशियामा एकमात्र स्वतन्त्र राष्ट्र रहन सफल मुलुक हो, अभिशप्त इतिहास मात्र होइन नेपालको गौरवपूर्ण इतिहासलाई गोलमटोल र लुकाईएको पनि छ, त्यसको सत्यतथ्य यथार्थ रुपमा राखेर विश्वमा प्रचार गर्न आवश्यक छ ।’
उनले वर्तमान इतिहासको जगमा उभिएको हुन्छ र त्यही जगमा टेकेर भविष्यतर्फ अगाडि बढ्नु उपयुक्त हुने धारणा व्यक्त गरे ।
‘हाम्रा वीर पूर्खा र अग्रजकै सुझबुझपूर्ण योगदानकै कारण नेपाल एक स्वतन्त्र, सार्वभौम र अखण्ड राष्ट्रका रुपमा पाएका छौँ’, उनले भने ।
विभिन्न जातजाति, भाषाभाषी, संस्कृति र परम्परा रहेको हाम्रो देशमा सबै नेपालीबीच आपसी मित्रता, मेलमिलाप र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई अझ सुदृढ गराउनु आजको आवश्यकता भएको उनको भनाई थियो ।