काठमाडौँ । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आवश्यकताअनुसार मन्त्रिमण्डल विस्तार हुने बताएका छन्। शनिबार सुनसरीको देवानगन्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले सरकारको प्राथमिकता मन्त्रिमण्डल विस्तार भन्दा पनि नागरिकको सेवा र मानवीय विकास रहेको बताएका छन्। उनले भने, ‘मन्त्रिमण्डल भनेको मुख्यमन्त्रीलाई चाहिने हात हो। मुख्यमन्त्रीलाई जहिले आवश्यक हुन्छ मन्त्रिमण्डल त्यहीबेला बन्छ । अहिले आवश्यक परे अहिले र भोलि परे भोलि नै मन्त्रिमण्डल बन्नेछ।’
मुख्यमन्त्री कार्कीले मंसिर १७ गते नेपाली कांग्रेसका शमशेर राई, नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई मन्त्रालयको जिम्मेवारी दिएका छन्। त्यसयता, नेकपा माओवादीसहितका अन्य दलले मन्त्रिमण्डल विस्तारका लागि दबाव दिदै आएका छन्। यद्यपि, मुख्यमन्त्री कार्कीले भने प्रदेशमा नागरिकको कामलाई प्राथमिकता राख्दै मन्त्रिमण्डललाई आवश्यकता अनुसार पूर्णता दिने बताउँदै आएका छन्।
प्रदेश सरकार सञ्चालनका लागि अहिले अप्ठ्यारो अवस्था नभएको बताउँदै मुख्यमन्त्री कार्कीले भने, ‘अहिले मुख्यमन्त्रीलाई काम गर्न गाह्रो छैन। सरकार चलाउन र काम गर्न अहिले अप्ठ्यारो भएको छैन । सरकारको प्राथमिकता अहिले मन्त्रिमण्डल नभएर मानवीय विकास हो ।’ कार्यक्रममा मुख्यमन्त्री कार्कीले सरकारले आफ्नो प्राथमिकता मानवीय विकासमा केन्द्रित गर्दै आएको बताए । उनले दिगो र गतिशील विकासका लागि मानवीय विकास अहिलेको आवश्यकता भएको उल्लेख गरे।
मानवीय विकास अन्तर्गत शिक्षालाई जोड दिदैँ प्रदेश सरकारले प्रत्येक गाउँपालिकाबाट कृषि र पशुको विषयमा अध्ययनका लागि समान एक जनालाई छात्रवृत्ति उपलब्ध गराउने मुख्यमन्त्री कार्कीले बताए।मुख्यमन्त्री कार्कीले भने, ‘गाउँका विद्यालयको स्तरोन्नति गर्दै यही पढेका विद्यार्थीलाई क्षमतायोग्य बनाउनेतर्फ प्रदेश सरकार केन्द्रित छ । अब यहीको अध्ययनबाट डाक्टर, इन्जिनियर, कृषि, प्रशासन र विषयगत विशिष्टता हासिल गर्न सक्ने अवस्था सृजना हुनेछ । त्यसको सुरुआत भइसकेको छ । अब प्रदेश सरकारले पढाउँछ र जागिरमा पनि लगाउनेछ।’