काठमाडाैँ – नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शनिबार भएको दिनको पहिलो खेलमा स्पोर्टिङ इलाम धनगढी एफसीसँग २–२ गोलको बराबरीमा रोकिएको छ। पहिलो हाफमा २ गोलको अग्रता दोस्रो हाफमा जोगाउन इलाम असफल हुँदा धनगढी एक अङ्क लिएर शीर्ष स्थानमा उक्लिएको छ।इलाम र धनगढीबिच प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले पहिलो हाफमा गोलका राम्रा अवसर बनाए पनि अन्तिम समयमा इलामले लगातार दुइ गोल गर्दै खेलमा पकड कायम गरेको थियो।
इलाम गोलरक्षक विकेश कुथुको चोटका कारण आज दोस्रो रोजाइका गोलरक्षकका साथमा उपस्थित थियो। त्यस्तै उसले डिफेन्डर आशिष गुरुङलाई पनि तीन पहिलो कार्डका कारण आजको खेलमा गुमाएको थियो। त्यस्तै इलामका मिडफिल्डर अब्दुलाए बाले चोटका कारण चौथो मिनेटमै मैदान छाड्दा इलामलाई संकट हुने आँकलन गरिएको थियो।तर इलाम पहिलो हाफमा सहज अग्रता लिन सफल भएपनि दोस्रो हाफको अन्तिम सम्म पुग्दा सम्भावित हारबाट मुस्कीलले जोगियो। इन्जुरी समयको अन्तिम केही सेकेन्ड बाँकी रहँदा धनगढीका रामचन्द्र वाजीको प्रहार क्रसबारमा लागेर फर्किदा इलामको सम्भावित हार टरेको थियो।
त्यसअघि इलामले ४५औं मिनेटमा एनडवको क्रसमा फोडे कामाराले सिक्स यार्ड बक्स भित्र बाट सहज गोल गर्दै खेललाई अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा इलामले अग्रता दोब्बर बनायो। मोहम्मद ताहाले कर्नर किक फुस्काएको बललाई थिओमले नियन्त्रणमा राख्दै अग्रता दोब्बर बनाए।
तर दोस्रो हाफमा खेलमा फर्किएको धनगढीले ६८ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गर्योट। रिचार्ड ओसाईले पेनाल्टीमा गोल गरेका थिए। टिमलाई बराबरीमा ल्याउने क्रममा आफिज ओलावालेले ८३ औं मिनेटमा धनगढीका लागि बराबरी गोल गर्दा इलाम सुरुवाती अग्रता जोगाउनबाट असफल भयो।जितपछि धनगढी शीर्ष स्थानमा उक्लिएको छ। धनगढीले ४ खेलबाट ८ अङ्क बनाउँदै शीर्ष स्थानमा उक्लिएको हो। इलामको भने ४ अङ्क भएको छ। उसको शीर्ष चारको सम्भाबना कठिन बनेको छ।