काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत अमृता कोइरालालाई घुससहित पक्राउ गरेको छ ।
अख्तियारको टोलीले उनलाई भरतपुर महानगरपालिका- ७ कटहर चोकस्थित बालाज रेस्टुरेन्टबाट आइतबार दिउँसो एक लाख पचास हजार घुससहित पक्राउ गरेको हो ।
औषधि आपूर्तिको बिल भुक्तानी दिए बापत सेवाग्राहीसँग घुस लिने क्रममा आयोगको टोलीले कोइरालालाई नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरे जानकारी दिए ।
उनीबाट सेवाग्राहीबाट लिँदै गरेको एक लाख पचास रुपैयाँ र चार लाख पचास हजार रुपैयाँको चेक समेत रहेको अख्तियारले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।