काठमाडौँ । स्पेन युरो २०२४ को सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । पहिलो क्वार्टरफाइनल खेलमा स्पेनले आयोजक जर्मनीलाई २–१ गोलले हराएको हो ।

प्रतिस्पर्धात्मक बनेको खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको पनि अन्तिम मिनेटमा ड्यानी ओल्मोको पासमा गोल गर्दै मिकेल मेरिनोले स्पेनलाई जित दिलाए । खेलको अन्त्यतिर ड्यानी कार्भाहालले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न परे पनि जर्मनीले त्यसपछि गोल फर्काउन सकेन । यसअघि निर्धारित समयको खेल १–१ को बराबरीमा टुङ्गिएको थियो । पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् ।

दोस्रो हाफको ५१ औँ मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । स्पेन जिततर्फ अग्रसर बनिरहँदा ८९ औँ मिनेटमा फ्लोरियन व्रिट्जले गोल गर्दै जर्मनीलाई खेलमा फर्काएका थिए ।

जारी युरोकपमा स्पेन हालसम्म अपराजित छ । स्पेनले पाँच खेल जितिसकेको छ । समूह ‘बी’ अन्तर्गतको आफ्नो पहिलो खेलमा स्पेनले क्रोएसियालाई ३–० गोलले हराएको थियो । आफ्नो दोस्रो खेलमा स्पनेले साबिक विजेतासमेत रहेको इटालीमाथि १–० गोलको रोमाञ्चक जित हात पारेको थियो । समूहगत चरणको आफ्नो तेस्रो खेलमा भने स्पेनले अल्बानियालाई १–० गोलले पराजित गरेको थियो ।

प्रि–क्वार्टरफाइनल खेलमा भने स्पेनले जर्जियामाथि ४–१ गोलको सजिलो जित हात पारेको थियो । स्पेनले समूहगत चरणमा पाँच गोल गरेको थियो भने एक गोल पनि खाएको थिएन । स्पेन लगातार दुईपटक युरोकपको उपाधि जित्ने एकमात्र राष्ट्र पनि हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here