काठमाडौँ । सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेशमा मधेस केन्द्रित दलहरू एकमत हुन सकेका छैनन् ।
साझा मुद्दा र साझा एजेन्डामा एकसाथ उभिने भन्दै आठ दलीय मोर्चा गठन गरेका मधेस केन्द्रित दलहरू भूमि सम्बन्धी अध्यादेशका सवालमा भने विभाजित देखिएका हुन् ।
आठ दलीय मोर्चामा रहेका जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीको विचार अध्यादेशको बारेमा अलगअलग छ ।
अध्यादेश आएपछि संघीय सरकारमा रहेका जसपा र लोसपा नेपालले भागबन्डा पनि पाइसकेका छन् । अध्यादेशसँगै जिल्ला तहमा भूमि समस्या समाधान आयोग गठन गरिएको छ । ७७ जिल्लामध्ये कांग्रेस र एमालेले, ३७–३७ वटा जिल्लामा आयोगको नेतृत्व पाएका छन् भने अशोक राई नेतृत्वको जसपाले २ र महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालले १ जिल्ला पाएका छन् । यस कारणले पनि जसपा र लोसपा नेपाल अध्यादेशप्रति नरम देखिएका छन् ।
अध्यादेश पास गराउनमा निर्णायक रहेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी अध्यादेश फिर्ता नलिए अरु पाँच वटा अध्यादेशमा पनि समर्थन नजनाउने चेतावनी दिइसकेका छन् । जसपा नेपालले भूमि सम्बन्धी अध्यादेश फिर्ता लिन सरकारलाई सुझाव दिएको छ ।