काठमाडौं । जनजाति आदिवासीमा निकै चर्चित तर लोप हुँदै गएको प्रचलित तारा हान्ने खेलप्रति पछिल्लो समय आकर्षण बढेको छ । निशानामा आधारित तारो हान्ने खेल प्रतियोगिता विशेषतः साविक धवलागिरि अञ्चलका म्याग्दी, बागलुङ र मुस्ताङका आदिवासी जनजातिमा सीमित थियो । पछिल्लो समय यस खेलमा अन्य युवाको समेत आकर्षण बढेको पाइएको छ । मुस्ता«मा त पछिल्ला वर्षहरुमा यो खेलको प्रतियोगिता नै आयोजना भइरहेका छन् ।
निकै सौखिन तथा साहसिक खेल भित्रपर्ने तारा हान्ने प्रतियोगिता बिहीबारबाट मुस्ताङको थासाङ गाउँपालिका घाँसाा सुरु भएको छ । थकाली सेवा समिति केन्द्रले आयोजना गरेको १२ औं ताराखेलको उद्घाटन कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले उद्घाटन गरेका हुन् । पूर्व मन्त्री समेत रहेका कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थाकालीले थालेका यस्ता संस्कृति र बिकासका कामलाई आफुले प्राथमिकताका साथ अघि बढाउने बताए ।
कार्यक्रमको उद्घाटन गर्दै सांसद थकालीले म्याग्दी–जोमसोम–कोरोला सडक खण्ड निर्माण सम्पन्न गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । यो सडक आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताएका उनले पूर्वमन्त्री रोमी गौचन थकालीले निकै कठिनाइकाबीच ल्याएको योजना रहेको स्मरण गरे । सांसद थकालीले आफू मुस्ताङ जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित भएपछि आफ्नो पिताको ड्रिम प्रोजेक्टमा रहेको म्याग्दी–जोमसोम–जोमसोम कोरोला सडकको लागि प्रयाप्त प्रयास गरि केही सुधारात्मक संकेतहरू देखिएको उल्लेख गरेका छन् ।
उनले जोमसोम–कोरोला सडकको बजेट व्यवस्था गरेर पनि बिगत ५ वर्षदेखि वातावरणीय मूल्यांकनको अभावमा बजेट कार्यान्वयन हुन नसकेकोमा दुःख व्यक्त पनि गरेका छन् । सांसद थकालीले पाँच वर्षमा वातावरण मूल्यांकन गर्ने ठेक्का पाएको कन्सल्टेन्टले ५ वर्षसम्म कुनै पनि प्रतिवेदन पेश नगर्दा काम अगाडि बढाउन समस्या भएको बताए । उनले यो विषयमा सम्बन्धित पक्षहरूले चासो नदेखाएकोमा चिन्ता जनाएका छन् । आफू अनवरत रुपमा म्याग्दी–जोमसोम सडकलाई पूर्णता दिन र जोमसोम–कोरोला सडक खण्डको स्तरोन्नति गर्न आईईए नभए पनि आईई गरेर ५०÷५० किलो मिटरको काम गरेर अगाडि बढाउने उनको भनाई थियो ।
साथै उनले जिल्लासँग सम्बन्धित गर्नुपर्ने काम र गरिरहेका विकासका कार्यहरूमा विशेष ध्यान दिने पनि प्रतिवद्धता गरेका छन् । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उनले थकालीको सँस्कृति, पहिचानसँग धनुषवाण अर्थात् तारा खेल अत्यन्त सन्निकट, पहिचान र सम्बन्ध राखिएको बताएका छन् । कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रोमी गौचन थकालीले थकालीहरूको पहिचान भनेकै उदारवाद, सबै जातजाति, धर्म, भाषासँग संहिष्णुता राखेर सबैसँग मिलेर र मिलाएर अगाडि बढ्ने क्षमता भएको उल्लेख गरेका छन् । म्याग्दी–जोमसोम–कोरोला सडक आफूले अनवरत प्रयासबाट प्रारम्भ गरेको भन्दै हालसम्म विभिन्न बहानामा सम्पन्न हुन नसकेकोमा दुःख व्यक्त गरेका थिए ।