काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री दाहाल पदमुक्त भएका हुन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत मागेका थिए ।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्रीको पक्षमा ६३ मत मात्र पर्यो । विपक्षमा १९४ मत परेको छ । मत दिन्न भन्नेमा १ मत परेको छ । बैठकमा २५८ जना सांसद्को उपस्थिति थियो ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि उनले पहिलो पटक २०७९ पुस २६ गते प्रतिनिधिसभाको जम्मा दुई सय ७० जना सांसदमध्ये दुई सय ६८ जनाको मत प्राप्त गरेका थिए । दुई जना सांसदले विपक्षमा मतदान गरेका थिए ।
त्यसको झण्डै साढे दुई महिनापछि एमाले लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले २०७९ साल चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यसबेला दाहाललाई प्रतिनिधिसभा बैठकमा उपस्थित दुई सय ६२ सांसदमध्ये कांग्रेससहित एक सय ७२ जनाले विश्वासको मत दिएका थिए । विपक्षमा ८९ सांसदको मत परेको थियो । एक जना सांसदको तटस्थ मत रहेको थियो । प्रधानमन्त्रीले २०८० साल फागुन ३० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाएपछि तेस्रो पटक विश्वासको मत लिएका थिए ।
त्यसबेला प्रतिनिधिसभा बैठकमा सहभागी दुई सय ६८ सांसदमध्ये एक सय ५७ जनाले उनको पक्षमा मतदान गरेका थिए । कांग्रेससहित एक सय १० सांसदले भने विपक्षमा मतदान गरेका थिए । एक मत तटस्थमा परेको थियो । जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले २०८१ साल जेठ ७ गते कांग्रेसलगायत विपक्षी दलको संसद बैठक अवरोधबीच चौथो पटक विश्वासको मत लिएका थिए । त्यसबेला उनको पक्षमा एक सय ५७ सांसदले मत दिएका थिए भने एक जना सांसदले तटस्थ मत जाहेर गरेका थिए ।