काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले दान जीवनसँग सम्बन्धित विषय भएको हुनाले यसको धेरै महत्व भएको बताएका छन् ।
बुधबार डा.अजय क्रान्ति शाक्यको नयाँ कृति ‘बुद्धका मौलिक दर्शन’को लोकार्पण एवं भिक्षु र गुरुमालाई प्रदान गरिने संघ दान कार्यक्रममा उनले आफूलाई किड्नीको आवश्यकता भएको समयमा किड्नी दान दिएको कुरालाई जोड्दै दानको असाधारण महत्व भएको बताए ।
उनले भने, ‘दान एउटा महान काम हो । जसलाई आवश्यक छ त्यसलाई दानदिनू । मलाई किड्नी फेल भयो किड्नी आवश्यक भयो, मलाई कसैले किड्नी दानदिए, दान लिएको किड्नी राखेर म हिँडिरहेको छु । दान कति महत्वपूर्ण रहेछ भन्ने कुरा त यसले देखिन्छ । किड्नी दान नगरेको भए त, अहिले मेरो १७औँ पुण्यतिथि हुन्थ्यो । दानजीवनसँग सम्बन्धित छ । यसले धेरै महत्व राख्छ ।’
उनले जसलाई जुन चिज आवश्यक छ त्यो चिजको आपूर्ति गरिदिनु दान भएको भन्दै समाजको लागि दान आवश्यक भएको बताए । उनले भने, ‘जसलाई जुन चिज आवश्यक छ, उसलाई त्यो चिजको आपूर्ति गरिदिनु दान हो । त्यसको असाधारण महत्व छ । नचाहिएको मान्छेलाई किड्नी दिनु के काम हुन्छ र त्यसको, हुदैँन् त्यस कारण जसलाई के आवश्यक हुन्छ त्यो दिनु ठिक छ ।’
अब विश्व र नेपालबाट कुनै पनि हालतमा बुद्धिजम, बुद्धदर्शन, बुद्धका उपदेश र शिक्षालाई कमजोर हुन नदिने उनको भनाई छ ।
उनले हवाई दुर्घटना स्थलको निरिक्षण, जलेको हवाई जहाज, कसरी दर्घट्ना भयो त्यसको भिडियो, १८ जना मानिसको निधनको दृश्य हेरेको भन्दै भारि मनका साथ कार्यक्रममा उपस्थित भएको बताए ।