काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देश प्रतिगमनको खतरातिर जान सक्ने खतरालाई रोक्दै अहिलेसम्म प्राप्त उपलब्धिको रक्षा गर्ने जिम्मेवारी माओवादीको काँधमा आएको बताएका छन् ।
बुधबार नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ११ औँ स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले समाजवाद उन्मुख समृद्धि निर्माण गरिरणनीतिक रुपमा समाजवादी क्रान्ति सम्पन्न गरेर नेपालमा समाजवाद निर्माण गर्ने कुरामा माओवादी केन्द्र स्पष्ट हुनुपर्ने बताए ।
उनले भने, ‘हामीले आज समाजवादउन्मुख समृद्धि निर्माण गर्ने र रणनीतिक रुपमा समाजवादी क्रान्ति सम्पन्न गरेर नेपालमा समाजवाद निर्माण गर्ने कुरामा प्रष्ट हुनुपर्दछ । अहिले हामीसँग चार, पाँच वटा कार्यभारहरु छन् । संस्थपक नेता नरबहादुर कर्माचार्यको स्मृति दिवस मनाइरहँदा हामीले अगामि बाटो निर्धारण नगरि नहुने भएको छ । आज हामीले राष्ट्रिय स्वाधिनताको रक्षा गर्नुपर्नेछ, राष्ट्रिय हितको रक्षा गर्नुपर्नेछ । दोस्रो, अहिलेसम्म प्राप्त उपलब्धीहरुको रक्षा गर्दै प्रतिगमनतिर जाने खतरालाई रोक्नुपर्नेछ । सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई तिव्र बनाएर समृद्धको यात्रा अगाडि बढाउनुछ र समाजवादको आधार तयार पार्नुछ ।’
राष्ट्रिय स्वाधिनता र हितको रक्षा गर्न सकेमात्र संस्थापक नेताहरुको सपना साकार हुने उनको भनाई थियो ।


























