काठमाडौँ । नेपाली साहित्यमा तीन दशकदेखि सक्रिय लेखिका राधिका कल्पितको कथा सङ्ग्रह ‘सम्मोहन’ सार्वजनिक भएको छ। शुक्रबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बीच पुस्तक सार्वजनिक गरिएको हो । कथाका विषयमा लेखकहरू श्यामल, बिन्दु शर्मा, र हेम भण्डारीले आफ्ना विचार प्रस्तुत गरे। कार्यक्रममा श्यामलले ‘सम्मोहन’ लाई सामाजिक र मनोवैज्ञानिक दृष्टिकोणबाट सशक्त र आशलाग्दो कृति भनेका थिए।

उनले भने, ‘कथामा राजनीतिक प्रभाव नराखी सामाजिक यथार्थलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । पात्रहरूको मनोविज्ञानलाई मिहिन ढंगले चित्रण गरिएको छ।’समालोचक बिन्दु शर्माले कथामा यथार्थ र अचेतनका दमित इच्छालाई सुन्दर तरिकाले प्रस्तुत गरिएको बताइन् । उनले ‘सम्मोहन’लाई आदर्शको मुकुण्डो लगाएका पात्रहरूको संवेदनामा आधारित, मनोवैज्ञानिक गहिराइ भएको कृति भनेर प्रशंसा गरिन् । पत्रकार हेम भण्डारीले कथाहरूले नेपाली समाजका पितृसत्तात्मक संरचनाको आलोचना गरेको र लैङ्गिक विभेदलाई उजागर गरेको बताए। उनले भने, ‘कथाहरूमा सामाजिक जटिलता र राज्यको उपस्थितिलाई मिहिन ढंगले प्रश्न गरिएको छ।’

यो कथा सङ्ग्रहमा लेखकले लैङ्गिक विभेद, सामाजिक विघटन, यौन मनोविज्ञान, र पितृसत्तात्मक चेतनालाई प्रमुख विषयवस्तु बनाउँदै कथा निर्माण गरेका छन् । कथाका पात्रहरूको विकास सजीव ढंगले गरिएको र लेखनमा कविता जस्तो भाषाको प्रयोग भएको टिप्पणीकारहरूको भनाइ थियो। कार्यक्रम गजलकार एवं कवि बाबु त्रिपाठीले सञ्चालन गरेका थिए । सङ्ग्रहको प्रकाशन इन्डिगो इन्क प्रालिले गरेको हो, र यसको मूल्य ४९९ रुपैयाँ राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here