काठमाडौं । सरकारले पाँच देशका राजदूत फिर्ता र १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले चीन, अष्ट्रेलिया, रुसी महासंघ, दक्षिण अफ्रिका र श्रीलंकाका राजदूतलाई भदौ १५ गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए ।
उनले भने, ‘मित्र राष्ट्र चीन, अष्ट्रेलिया, रुसी महासंघ, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत नेपाली आवासीय राजदूतलाई सो पदको जिम्मेवारीबाट मुक्त गरी मिति २०८१ भदौ १५ गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय भएको छ ।’
सरकारले भारत, अष्ट्रेलिया, साउदी अरेविया, दक्षिण अफ्रिका, इजरायल, श्रीलंका, स्पेन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, दक्षिण कोरिया, रुसी महासंघ, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल र पाकिस्तानमा नेपाली राजदुत नियुक्तिको लागि सिफारिस गरेको हो ।