काठमाडाैं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदै छ ।
आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा १८७१ असार २९ गते भएको हो । धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए ।
भानुभक्तले भारतको वाराणसीमा केही समय शिक्षा लिएका थिए । भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरेका थिए। रामायणलगायत भक्तमाला, प्रश्नोत्तर, वधुशिक्षा र रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन् ।
नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा उनको ऐतिहासिक योगदान रहेको छ ।
भानुजयन्तीको अवसरमा काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानलगायत स्वदेश र विदेशमा रहेका विभिन्न संघसंस्थाले कार्यक्रम गर्दैछन् । विद्यालय तथा विश्वविद्यालयमा भानुभक्तका रचना पाठ गरिँदैछ । विभिन्न संस्थाले भानुको रचनावाचन प्रतियोगिता चलाएका छन् ।
उनको निधन १९२५ मा भएको थियो ।