काठमाडाैं । मध्य नाइजेरियामा विद्यालय भत्किँदा करिब २१ विद्यार्थीको मृत्यु भएको छ । कैयौँ घाइते भएका छन् ।
शुक्रबार पठार राज्यको जोस नर्थ जिल्लामा रहेको सेन्ट एकेडेमीमा विद्यार्थीले परीक्षा दिइरहँदा भवन भत्किएको हो । नेमा र अन्य महत्त्वपूर्ण सरोकारवालाले हाल खोजी जारी राखेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
विद्यालय के कारणले भत्किएको हो भन्ने स्पष्ट हुन सकेको छैन तर पठारमा तीन दिनको भारी वर्षापछि भवन भत्किएको हुन सक्ने स्थानिय बासिन्दाले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई जानकारी दिए ।
अफ्रिकाको सबैभन्दा बढी जनसंख्या भएको नाइजेरियामा निर्माण मापदण्डको ढिलो कार्यान्वयन, लापरबाही र कम गुणस्तरको सामग्रीको प्रयोगका कारण भवन भत्किएको अनुमान गरिएको छ ।