काठमाडाैं । साउनको पहिलो सोमबार आज देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज बिहानैदेखि देशभरका शिव मन्दिरमा भक्तालुजनको पूजा, अर्चनाका लागि भीड लागेको हो ।

काठमाडौंको पशुपतिनाथको मन्दिरमा भक्तजनको उल्लेख्य भीड रहेको छ । साउन महिना विशेष गरेर आशुतोष भगवान (महादेव) को प्रिय महिना भएकोले साउनको सोमबार विशेष पूजा आराधना गर्ने गरिन्छ । सोमबारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोवाञ्छित कामना सिद्ध हुने विश्वास रही आएको छ ।

साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउने सोमबारमा शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र घर परिवारमा सुख शान्ति छाउने धार्मिक विश्वास छ । हिन्दु धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ । त्यसैले यो दिनलाई विशेष दिनका रुपमा लिइन्छ ।

साउने सोमबारको दिन मनोकामना पूरा हुने विश्वासका साथ भगवान शिवलाई जल र बेलपत्र चढाँउने गरिन्छ। हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ । सोमबारका दिन काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी महादेव, धरानको पिण्डेश्वर महादेव लगायत देशभरका शिवालयमा भक्तजनको घुँइचो लाग्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here