काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेपाल कम्युनिष्ट पार्टी एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा मालेलगायत विभिन्न समूहमा छरिएका कम्युनिष्ट पार्टीले आज विभिन्न कार्यक्रम आयोजना गरी उनको योगदानको सम्झना गर्दैछन् ।
विक्रम संवत् १९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मिएका श्रेष्ठको २०३५ साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० गते भारतको कोलकाताको श्यामबजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।
नेकपा स्थापना गर्नुअघि उनले विक्रम संवत् १९९८ सालमा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गरेका थिए । नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् ।