काठमाडाैं । पाकिस्तान सरकारले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तहरीक-ए-इन्साफ (पीटीआई)लाई प्रतिबन्ध लगाउने भएको छ । इमरान खान, आरिफ अल्वी र कासिम सुरीविरुद्ध अनुच्छेद ६ अनुसार कारबाही गर्न मागसहित सरकारले सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।
पाकिस्तान सरकारमा संलग्न दलले पाकिस्तान पीटीआईको आरक्षित सिटका सम्बन्धमा सर्वोच्च अदालतको निर्णयको विरुद्धमा पुनः पुनरावेदन दायर गर्ने पाकिस्तानका केन्द्रीय सूचना मन्त्री अता तरारले पत्रकार सम्मेलनमा भनेका थिए । ‘यसबाहेक मे ९ मा भएको हमला, साइफर काण्ड र अमेरिकासँगको सम्झौता जस्ता प्रमाण समेत छन्, जसको आधारमा पीटीआईमाथि प्रतिबन्ध लगाउन सकिन्छ । त्यसैले सरकारले सबै प्रमाण हेरेर पीटीआईमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ,’ उनले भनेका छन् ।
पीटीआईले तालिबानलाई पाकिस्तानको क्षेत्रमा ल्याएको र देशविरुद्ध षड्यन्त्र रचेको आरोप उनले लगाए । पीटीआईका नेताले राष्ट्रविरोधी शक्तिलाई बलियो बनाएको आरोप लगाइएको छ । यी घटनामा संलग्न सबैलाई कानुनी कारबाही गरिने र राहदानी जफतलगायत कडा कारबाही गरिने बताइएको छ ।